युएईको अबुधाबी क्रिकेट रंगशालमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले कोलकाताविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। १५६ रनको विजय लक्ष्य पछ्याएको कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो।
बिहीबार राति सम्पन्न खेलमा मुम्बई कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो । यसअघि चेन्नई सुपर किंससँग मुम्बई २० रनले पराजित भएको थियो।
कोलकाताका लागि राहुल त्रिपाठीले अविजित ७४ रन बनाए। उनले ४२ बलको सामना गर्दै ३ छक्का र ८ चौका हिर्काए। त्यस्तै वेंकटेस आयरले ५३ तथा सुबमन गिलले १३ रन जोडे। मुम्बईका जसप्रित बुम्रा एक्लैले ३ विकेट लिए।
मुम्बईका क्वीन्टन डी ककले ५५ तथा कप्तान रोहित शर्माले ३३ रन जोडेका थिए। त्यस्तै किएरोन पोलार्डले २१ र इशान किसनले १४ रन बनाए।
मुम्बईलाई रोक्न कोलकाताका लकी फर्गुसन र प्रसिद्ध कृष्णले २-२ विकेट झारे भने सुनि नरिनले १ विकेट लिए।
हारसँगै ९ खेल खेलेको मुम्बई छैठौँ स्थानमा रहेको छ भने जित निकालेको कोलकाताले चौँथो स्थानमा पुगेको छ। समान ९ खेलमध्ये ७ मा जित निकालेको दिल्ली क्यापिटल्स पहिलो स्थानमा छ। त्यस्तै चेन्नई सुपर किंस दोस्रा तथा रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ।