नेपालगञ्ज, १ असार–करण केसीको ५ विकेट तथा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीमा नेपालले विश्वकप लिग २ क्रिकेटमा ओमानविरुद्ध सानदार विजय हात पारेको छ । नेपालले मंगलबार शीर्ष स्थानको ओमानलाई ७ विकेटले पराजित ग¥यो ।
आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।
अमेरिका भ्रमणमा नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए । यस्तै कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे । देव खनाल १० रन बनाएर आउट भए । रोहित पौडेलले अविजित २६ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.१ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भएको थियो ।
ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै सन्दिप गौडले४७ रन जोडे । ४९ रनमा ५ विकेट गुमाएको अवस्थामा मक्सुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । यस्तै ओपनर जतिन्दर सिंहले २३ र नसिम खुशीले १० रन जोडे । फयज बट १३ रनमा अविजित रहे ।
करणको सानदार बलिङपछि टस जितेर ब्याटिङमा आएको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अलआउट भएको थियो ।
यस विजयपछि नेपाल सात राष्ट्र सहभागी लिग २ मा एक स्थान माथि उक्लँदै पाँचौं स्थानमा आएको छ । नेपालले १५ खेलमा १५ अंक बटुलेको छ । १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थानमा झरेको छ । ओमानविरुद्ध लिग २ को ६ खेलमा नेपालको यो दोस्रो विजय हो । अन्य ४ खेलमा ओमानले नेपाललाई पराजित गरेको थियो ।
ओमानमाथि नेपालको शानदार जीत
