नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ सहाबारोडस्थित कब्रस्तानको जग्गामा भैरहेको निर्माण कार्यलाई रोक लगाउन माग गर्दै ज्ञापनपत्र बुझाईएको छ। आईतबार कब्रस्तान संघर्ष समितीले तीनबुंदे माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा सो ज्ञापनपत्र बुझाएको हो । समितीका संयोजक बाबु खाँ पठानको नेतृत्वमा गएको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाललाई उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा कब्रस्तानको जग्गामा भैरहेको निर्माण कार्यमा तत्काल रोक लगाई भबिष्यमा पनि यस्ता अबैध निर्माण गर्न नसक्ने गरि ब्यवस्थापन गर्ने, दर्ता भएदेखी अहिलेसम्म कब्रस्तान कुन ब्यक्तीबाट कुन प्रक्रियाबाट संचालन भएको भन्ने कुराको छानबिन गर्ने, कब्रस्तानको आर्थिक कारोबार तथा लेनदेन अपारदर्शी र जवाफदेहितारहित भएकोले सो कब्रस्तान दर्ता भएदेखी हालसम्म भएको बार्षिक कारोबारको छानबीन गरि/गराई त्यसको बारेमा सम्पुर्ण तथ्यहरु संघर्ष समितीमार्फत नेपालगन्जका मुस्लिम समुदायको सामु सार्बजनिक गर्ने लगायतका मागहरु रहेका छन। ज्ञापनपत्रमा कब्रस्तान संचालन समितीको नाममा केही ब्यक्तिहरुले जबरजस्ती कब्रस्तानको जग्गामा अबैध रुपमा घर निर्माण गर्नुका साथै विभिन्न आर्थिक कारोबार तथा लेनदेन गरि भ्रष्टाचार गरेको आरोपसमेत लगाईएको छ । गृहमन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मुस्लिम आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत ज्ञापनपत्रमार्फत जानकारी दिईएको संयोजक पठानले बताउनुभयो ।
कब्रस्तानको जग्गामा भैरहेको निर्माण कार्यलाई रोक लगाउन माग गर्दै बाँके प्रशासनमा ज्ञापनपत्र
