नेपालगन्ज, पुस १८-सवारी दुर्घटनामा मृत्यु भएको बिषयलाई लिएर सोमबार नेपालगन्जका विभिन्न स्थानहरुमा सडक अबरुद्ध गरिएको छ।
नेपालगन्जको न्यूरोडस्थित भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिदाँ साइकल यात्री दैलेख, नारायण नगरपालिका वडा नम्बर ५ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने तेजन थापा मगरको मृत्यु भएको थियो ।
ठक्कर दिने चालकलाई कारबाही र ट्रक धनीलाई सम्पर्कमा ल्याएर उचित क्षतिपुर्ति दिनुपर्ने माग राख्दै नेपालगन्जको कारकाँदो, राँझा, भुजईगाउँ लगायत स्थानमा सोमबार बिहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रक धनी सम्पर्कमा नआएपछि आफन्तहरु आन्दोलित भएका हुन् । घटननालाई प्रहरीले गम्भिर रुपमा नलिएको उनीहरुको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीमगरले ठक्कर दिने चालकलाई कारबाही, ट्रक धनीलाई सम्पर्कमा ल्याउनुपर्ने लगायत माग राखेर मृतकका परिवार तथा आफन्तहरु आन्दोलनमा उत्रिएको बताए । आन्दोलनमा विभिन्न बिद्यालयका बिद्यार्थी समेत परिचालित भएका छन् । ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी प्रवक्ता घर्तीमगरले बताए । परिवार र आफन्तले मृतकको शव अझसम्म बुझेका छैनन् । मृत्युका आफन्तहरुले दोषीलाई यथाशिग्र कार्वाही गरि पिडीतलाई उचित क्षतिपूर्ति नदिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन।
कार्वाहीको माग गर्दै नेपालगन्जमा सडक अवरुद्ध
