काेहलपुर काेराेना हट स्पट बन्ने संभावना, संक्रमित बढ्दै

कोरोना विशेष मुख्य खबर समाचार

नेपालगन्ज, ६ भदौ-कोरोनाको संभावित तेस्रो लहरको सबैभन्दा बढी जोखिममा बाँकेको कोहलपुर देखिएको छ ।
बाँके जिल्लाको सदरमुकाम नेपालगञ्ज लगायतमा संक्रमित थपिने क्रम न्युन भएपनि गत केही समययता कोहलपुरमा भने दिनदिनै संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
संक्रमित थपिंदै गएपछि हाल आएर मृत्यु हुने क्रम पनि शुरु भएको जिल्ला कोभिड–१९ ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । शुक्रवार राती मात्रै कोहलपुरका एक २४ वर्षिय महिला संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार हाल दैनिक भैरहेको कोरोना परिक्षणमा हरेक दिन सबैभन्दा बढी संक्रमित कोहलपुरकै भेटिने गरेका छन् ।
हरेक दिन २० देखि ३५ जनासम्म कोहलपुरका वासिन्दा संक्रमित भेटिने गरेकोले संभावित तेस्रो लहरको सबैभन्दा बढी जोखिममा कोहलपुर देखिएको फोकल पर्शन ओलीले बताउनुभयो ।
उहाँले हाल कोहलपुरमा १०७ जना संक्रमित रहेको र उनिहरु मध्ये १०५ जना होम आइसोलेसनमा र २ जना भेरी अस्पतालमा रहेको बताउनुभयो ।
संक्रमित घटाउन कोहलपुरमा नियन्त्रणका अभियान तत्काल शुरु गर्नुपर्ने कुरामा पनि ओलीले जोड दिनुभयो ।
एकातिर कोहलपुर संभावित तेस्रो लहरको सबैभन्दा बढी जोखिममा रहेको छ भने अर्कोतिर त्यहाँका अधिकांश वासिन्दाले कोभिड १९ को स्वास्थ्य मापदण्डको पालना गरेको पाईंदैन ।
बजारमा देखिने अधिकांश बासिन्दाले मास्क र भौतिक दुरीको खयाल नगरेको पाईएको ओलीले बताउनुभयो ।
कोहलपुरमा दिनदिनै संक्रमित थपिन थालेपछि सो नियन्त्रणका लागि उपायहरु अपनाइने कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुरका मेयर लुट बहादुर रावतले संक्रमित थपिंदै गएको कुराले चिन्तित बनाएको जनाउँदै सो रोक्ने बारेमा छिटै केही महत्वपुर्ण कदम चालिने बताउनुभयो ।
उहाँले नगरवासीलाई मास्क लगाउन, भौतिक दुरीको खयाल राख्न र अनावश्यक बाहिर भिडभाडमा नजान आग्रह गर्नु भएको छ ।
संक्रमित थपिन थालेपछि परीक्षणको दायरा पनि बढाउँदै लगिएको नगरपालिकाले जनाएको छ ।
गोरखापत्रमा सिराज खानले लेख्नुभएको समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *