नेपालगन्ज, ३० असार-डेंगु, मलेरिया र कालाजार रोकथाम बारे नेपालगन्जमा सरोकारवालाहरुसंग अभिमुखिकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु अन्य किटजन्य रोगलाई रोकथाम तथा लामखुट्टे लार्भा नष्ट गर्ने सम्बन्धि सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरिएको हो । बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो । नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक वर्ष २०७६–७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५–७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए । सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । तातो हावापानी भएका शहर र सहरोन्मुख वस्तिमा डेंगु रोगको जोखिम बढी देखिएको छ । डेंगु, मलेरिया, चिकन गुन्या, कालाजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ । लामखुट्टेको टोकाईबाट सर्ने यी रोगबाट जोगिन बातावरण सरसफाईलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताउनुभयो । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । यस्तै बाँकेमा मलेरियाको उच्च जोखिम रहेको जिल्ला मानिन्छ । खुल्ला सिमानाका भएको हुनाले मलेरियाका विरामी कमि भएपनि यस क्षेत्रलाई उच्च जोखिमको रुपमा लिएको स्वास्थ्यकर्मीहरु बताउछन् ।

बाँकेमा आर्थिक बर्ष २०७५÷०७६ मा १०६६ जनामा मलेरिया देखिएको थियो । जसमध्ये ६२६ केश बाहिरी जिल्लाको आएको थियो । लुम्बीनि प्रदेशमा हाल १४३ जना मलेरियाका विरामी रहेका छन् । बाँकेमा ५४ जनामा देखिएको छ । गत बर्ष नरैनापुरमा ४२ जनामा देखिएको थियो भने नेपालगन्जमा २ जनामा मलेरिया देखिएको थियो । यस बर्ष नरैनापुरमा ३३, नेपालगन्जमा शुन्य, राप्तीसोनारीमा १ जना, बैजनाथमा ३ गरि जम्मा ४० जनामा मलेरिया देखिएको छ ।