नेपालगन्ज, ९ श्रावण-केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको शनिबार नेपालगन्जमा सम्पन्न भएको बैठकले मुस्लिम समुदायको आउन लागेको महान पर्व मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन सम्बन्धि छलफल गरेको छ । कोरोना संक्रमणको महामारीका कारण लगातार दुई बर्ष देखि पर्व समेत खुलेर मनाउन नसकेको हुँदा वातावरण अनुकुल भए यस वर्ष भने धुमधामका साथ मनाउने छलफल भएको केन्द्रिय समितीका अध्यक्ष गुलाम हुसेन हल्वाईले जानकारी दिएका छन् ।

केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाई, वरिष्ठ उपाध्यक्ष इश्हाक सिद्दिकी, उपाध्यक्ष जलील राई, उपाध्यक्ष महा–सचिव शाबीर अली शेष, सचिव रिजवान मिर्जा लगायत २४ जनाको समिती रहेको केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिले सो समिति अन्तर्गत बाँकेका ५० वटा गाउँका समितिको पदाधिकारीहरुको उपस्तिथिमा छलफल भएको हो । समितीले धुमधामका साथ पर्व मनाउने निर्णय गरेपनि कोरोना महामारीको जोखिमको अवस्था बारे सुझबुझ गरेर प्रशासनको अन्तिम निर्णय माथि निर्भर रहेको समितिका केन्द्रिय अध्यक्ष गुलाम हुसेन हल्वाईले जानकारी दिए ।