नेपालगन्ज, १२ चैत-नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अस्थिर राजनीतिलाई स्थिरता दिनका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नु पर्ने बताएका छन् । आईतबार विहान नेपालगन्जमा प्रेस चौतारी, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि दुईठुला दल (कांग्रेस र एमाले) मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । उनले कांग्रेस र एमालेका बीचमा मिलेर अघि बढ्ने बारेमा औपचारिक कुराकानी नभएपनि कांग्रेस र एमालेभित्र मिलेर जानु पर्छ भन्ने मत बाक्लो रहेको बताए । ‘कांग्रेस र एमाले मिलेर अघि बढ्ने सन्दर्भमा औपचारिक रुपमा छलफल नभएको मात्रै हो । अनौपचारिक रुपमा यस विषयमा चर्को बहस भईरहेको छ । सत्तामा अहिले भईरहेको भागबण्डा हेर्ने हो भने पनि काँग्रेसले १० सिट बराबर एउटा मन्त्री पाएको छ, माओवादीले भने ५ सिट बराबर एउटा मन्त्री पाएको छ । यस्तो अवस्थामा कसरी राजनितिक सन्तुलन कायम हुन सक्छ ।’– नेता बस्नेतले भने । ‘अघिल्लो पटक संसद विघटनको विषयमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको थियो । तर, मन्त्री परिषद र सत्ता समिकरण यस्तै भद्रगोल भईरहने हो भने उस्तै परे फेरिपनि संसद विघटन नहोला भन्न सकिन्न । तर, यसपटक शेरबहादुर देउवाले गर्ने सम्भावना बढी छ ।’ पोलिटब्यूरो सदस्य बस्नेतले अस्थिर चरित्रको नायक प्रचण्ड रहेको, च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोप समेत लगाएका छन् । यसकारणपनि देशको परिस्थितीलाई मध्येनजर गर्दै राष्ट्रिय हितका लागि बस्नेतले कांग्रेस र एमाले मिल्न आवश्यक रहेको उनले दावि गरे । फरक प्रसँगमा कुरा गर्दै नेता बस्नेतले एमालेका युवा पुस्ताहरुसंगै अघिल्लो पुस्तालाई समेत प्रविधि तर्फ उन्मुख बनाउन तर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) लागि पर्ने बताएका छन् । अवको समय प्रविधिको युग भएकाले युवा पुस्तासँगंै ४० कटिसकेको अघिल्लो पुस्तालाई पनि प्रविधिसँग जोड्न आवश्यक महसुस गरिएको बताउदै अवका दिनमा पार्टीका सबै तह र तप्कालाई प्रविधिसँग परिचित बनाउदै लैजाने एमालेका पोलिटब्यूरो सदस्य बस्नेतले बताए । चैत्र २७–२९ गते नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौँ महाधिवेशनका सन्दर्भमा नेपालगन्ज आएका बस्नेतले कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्ने बताए । युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले सबै प्रदेशमा पदाधिकारी र केन्द्रीय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने जानकारी दिए । नेता बस्नेतले दशकपछि हुन थालेको महाधिवेशनलाई नमूनायोग्य बनाउने बताउदै उदघाटनमा १० हजार बढी सहभागी हुने र बन्दसत्रमा दुई हजार सहभागी हुने जानकारी दिए । प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, युवा नेता रविन्द्र लम्साललगायतको उपस्थिति रहेको थियो ।
राजनीतिको विकृति अन्त्य गर्न कांग्रेस र एमाले सहकार्य आवश्यक छ ।
