थारू समुदायले धुमधामका साथ मनाए ‘अट्वारी पर्व’

मुख्य खबर समाचार

नेपालगन्ज-थारू समुदायले आज धुमधामका साथ ‘अट्वारी पर्व ’ मनाउँदै छन् । नेपालको करिव २२ जिल्लाका थारु समुदायले आज धुमधामका साथ अट्वारी पर्व मनाईरहेका छन् । प्राय जसो बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ ,कपिलबस्तु, चितवन जिल्लामा बसोबास गर्ने ती समुदायले अट्वारी पर्व मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । यो पर्व दुई दिन मनाउने गरिन्छ । पर्वको पहिलो रात दर (भिन्सर्या भाट) खाने गर्दछन भने त्यही दिनभरी भोकै बसी साँझा सयुक्त रुपमा पुजापाठ गरि भोजन गर्ने गर्दछन् । पहिलो दिन विभिन्न परिकारका साथ मिठा मिठा खाने कुरा खाने र त्यसमध्येको आधा भाग आफ्नो दिदीवहिनीको लागि छुट्याउने चलन रहेको थारु अगुवा हिमेन्द्र चौधरीले भन्नुभयो । ‘दिउँसो पुरुष बर्तालु नुहाइधुवाई गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन् । रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ । सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरु रोटीभन्दा ठुलो हुन्छ । पहिलो रोटी थारू लोकविश्वास अनुसार भीम (पाण्डुका माइला पुत्र) का लागि भनेर छुट्टै राखिन्छ । साँझ सबै बर्तालुहरु गोबरले लिपेका ठाउँमा बस्छन् । बीचमा आगो र लोटामा पानी राखिन्छ ।’
टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ । अग्रासन भोलीपल्ट आफ्नो दिदीवहिनीलाई दिने चलन छ ।
‘अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाई गरेर बर्तालुहरू खाना पकाउन थाल्छन् । खानाका लागि तीन, पाँच अथवा सात प्रकारको तरकारी पकाइन्छ । यसमा पवैको साग सिल्टुङ, पाप्रो, चिचिन्डो अनिवार्य हुनुपर्छ । अन्य मौसमी तरकारी भए पनि राम्रो मानिन्छ । खाना पकाइसकेपछि सबै बर्तालु लिपेको चोखो ठाउँमा बस्छन् । आफ्नो टपरी र दुनाबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन् ।’ छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् । त्यसपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना शाकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् । परम्परागत रुपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो । सोही दिन आफ्नो परम्परा झल्कने नाचगान उनिहरुले भल्मन्साको घरमा नाच्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *