नेपालगन्जमा मल्टिप्लेक्स ‘सिने रोयल’ सिनेमा हल सञ्चालनमा

मनोरञ्जन मुख्य खबर समाचार


नेपालगन्ज, ११ साउन-नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ ।
बिहीबारबाट सञ्चालनमा आएको ‘सिने रोयल’ नामक सो चलचित्र भवनमा रहेका तीन वटै अडिटारियम अमेरिकाबाट आयात गरिएका हुन् । बेल्जियमबाट प्रोजेक्टर आयात गरिएको र हङकङबाट आयात गरिएका थ्रिडी प्रणाली त्यसमा जडान गरिएको छ ।
चलचित्र भवनका सञ्चालक डा. राहुल थापाले उद्घाटनको अवसरमा हलबारे जानकारी दिँदै नेपालमै पहिलो पटक विभिन्न विदेशी मुलुकबाट ल्याइएका प्रविधिको प्रयोग गरिएको बताउनुभयो ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङ सिस्टममार्फत दर्शकका लागि रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरू जडान गरिएको उहाँले बताउनुभयो । सञ्चालक डा. थापाका अनुसार तत्काल हलसँगै क्याफेटेरिया पनि सुरु गरिने छ । बिस्तारै विभिन्न सपिङ आउटलेटसँगै एउटा डिपार्टमेन्टल स्टोर पनि खोल्ने योजना रहेको बताउनुभयो ।
करिब २५ करोडको लागतमा निर्माण गरिएको सो चलचित्र भवनका सबै हलहरू पूर्णरुपमा फायर प्रुफ रहेकाले सुरक्षामा पनि अति नै बलियो प्रणाली अपनाइएको उहाँको भनाइ छ ।
सञ्चालक डा. थापाका अनुसार दुई वटा हल २५० दर्शक क्षमताको र एउटा हल १५० दर्शक क्षमताको गरेर ५६० जना दर्शक अट्ने क्षमता रहेको छ । उहाँले अत्याधुनिक प्रविधि, आलिशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमै सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको बताउनुभयो ।
सो अवसरमा सङ्घीय सांसद धवल शमशेर राणा, चलचित्र भवन निर्माणका टिम लिडर किरण ढकाललगायतले नेपालगन्जका लागि गौरवको आयोजना रहेको यो चलचित्र भवनले नेपाल र भारतका दर्शकलाई आकर्षित गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *