नेपालगन्ज मेडिकल कलेजमा उपचारमा आउने प्रहरीलाई २५ प्रतिशतसम्म छुट

मुख्य खबर समाचार स्वास्थ्य

नेपालगञ्ज, ३ साउन–नेपालगन्ज मेडिकल कलेजमा उपचार गर्न आउने प्रहरी तथा तिनको परिवारले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन। मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच सम्झौता भएपछि प्रहरीले सो छुट पाउने भएका हुन । मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगन्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको जानकारी दिनुभयो । सो सम्झाैतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गर्नुभयो । सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो । उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *