सिराज खान
नेपालगन्ज, नाला सफाई र पानीको निकासमा समयमै ध्यान नदिंदा एक पटक फेरी नेपालगञ्जका धेरै स्थान डुबानमा परेका छन् ।
बिहीवार मध्यरातीमा भएको भिषण बर्षाले नगरका धेरै क्षेत्र जलमग्न हुन गै दर्जनौं घरहरु डुबानमा परेको स्थानीयले जनाएका छन् ।
तर, डुबानको कुरा सञ्चार माध्यममा आयो भने तथानाम प्रतिक्रिया दिने मेयर धवल शमसेर राणालाई कुनै पनि वास्ता छैन । उनले अब नगर न डुब्ने भनेर गरेको घोषणा भनाइमा मात्र सिमित भएको छ ।
नगरमा ढल निकासका लागि निर्माण गरिएका अधिकांश ठुला साना नालाहरु फोहोरले थुनिंदा पानीको निकास बन्द भएको र केही स्थानमा नाला निर्माण नगरिएकोले ठाउँहरु जलमग्न भएका हुन् ।
निरन्तरको बर्षाले गर्दा नेपालगञ्जको वडा नम्बर ४, ५, ६ र ७ का अधिकांश स्थान जलमग्न भै डुबानमा परेको छ । वडा नम्बर ७ का अधिकांश घरहरुमा पानी पसेको वडा अध्यक्ष जुम्मन खाँले बताउनुभयो ।
पानी जमेका कारण नगरका स्थानीयका दर्जनौ घर र पसलमा समेत पानी पसेको छ । वडा नम्बर ७ र १२ का धेरै घरमा पानी पसेर समस्या परेको सो क्षेत्रका वासिन्दाले जनाएका छन् ।
नाला सफा नहुँदा पानीको निकास बन्द भएर ती क्षेत्र सधैं बर्षामा डुबानमा पर्दै आएको वडा नम्बर ७ का दिनेश मानन्धरले बताउनुभयो ।

यसैगरि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले वर्षाले नगरका धेरै स्थान जलमग्न भएको जानकारीमा आएको बताउनु भयो ।
नेपालगञ्ज बेलासपुरका स्थानीय दिनेश श्रेष्ठले पानीको निकासका लागि तयार पारिएका नालाहरुको सरसफाई नगरिंदा नाला फोहोरले भरिएकोले निकास बन्द भै धेरै ठाउँ जलमग्न हुँदै आएको बताउनु भयो । उहाँले पानीको निकास नहुँदा यसरी पटक पटक यहाँ डुबान हुने गरेको बताउनु भयो ।
सुर्खेतरोड, ईदगाहरोड, न्यूरोड र अन्य स्थानमा पानीको निकासका लागि बनाईएका ठुला ठुला नालाहरुको सफाई नगरिंदा बर्सेनी यस्तो समस्या हुने गरेको अधिकांश स्थानीयको भनाई छ ।










