पितृसत्ताभित्र पीडित पुरुष 

साहित्य / बिचार / ब्लग

पुरुष भन्नेबितिकै हाम्रो दिमागमा एउटा छुट्टै किसिमको चित्र आउँछ– शारीरिक रूपमा निकै बलियो र हट्टाकट्टा । बलियो र हट्टाकट्टा नभएका पुरुषहरूलाई ‘लुते’, ‘नामर्द’ भनेको त हामी सबैले सुनिराखेकै कुराहरू हुन् ।
पुरुष घरको जिम्मेवार व्यक्ति हुन् । पुरुषहरूसँग भावना हुँदैन । पुरुषहरू रुँदैनन् । महिलारूपी गुण धेरै भएका, संवेदनशील, चिटिक्क परेर हिँड्न रुचाउने, सानो स्वरमा बोल्ने आदि पुरुषलाई पुरुष भन्न हिचकिचाइन्छ हाम्रो समाजमा । पुरुष भएर कडा, एग्रेसिभ र बलियो नै हुनुपर्छ भनेर कसले भनेको होला ? पितृसत्ताले ! पितृसत्तात्मक समाज भने पनि पीडित पुरुषको सङ्ख्या कम छैन । धेरैले भन्ने गर्नुहुन्छ, महिला–महिला मात्र कति भन्छौ तिमीहरू ? म उहाँहरूलाई भन्न चाहन्छु कि सच्चा अधिकारवादीले महिला अधिकारको कुरा गर्दा पुरुषको विरोध गर्दैनन्, पितृसत्ताको विरोध गरेको हो । आउनुस्, केही उदाहरण हेरौँ ।
घरमूली भन्नेबित्तिकै हाम्रो मस्तिष्कमा हजुरबा, हजुरबापछि बुबा, बुबापछि दाइ, भाइको नाम जोड्ने गरिन्छ अर्थात् पितृसत्ताले घरमूली भन्नाले पुरुषलाई मान्छ । पितृसत्ताले घरको सम्पूर्ण आर्थिक जिम्मेवारी लिनुपर्छ भन्ने गर्छ ।
मैले सानैदेखि मेरो बुबालाई देख्ने गर्थें र बडो अच्चम्म पनि लाग्थ्यो । मेरो बुबा कहिल्यै खुलेर रमाउन सक्नु भएन, न त आफ्नो इच्छा नै पूरा गर्न सक्नुभो । १६ वर्षको रमाउने र खाने उमेरमा उहाँमाथि पारिवारिक जिम्मेवारी आइलाग्यो । पढ्ने, घुम्ने र रमाउने उमेरमा उहाँ परिवार चलाउनका लागि काम खोज्दै हिँड्नुभो । आखिर मेरो बुबाका तीन जना भाइ र तीन जना दिदीबैनी पनि त थिए । तर, जिम्मेवारी उहाँमाथि नै किन ?
पितृसत्तात्मक सोचका कारण उहाँको बालापन खोसियो र जिम्मेवारीको भार उठाउने भरिया बनाइयो उहाँलाई । त्यही पितृसत्ताले नै उहाँलाई कहिले तँ पुरुष होस्, थाक्न पाउँदैनस् भनेर होला, ६० वर्षको हुँदा पनि घरको जिम्मेवारी उठाउँदै आउनुभएको छ । हामीले जति नै कर गरे पनि उहाँ मन्नु हुन्न । मनमा भएका लाखौँ इच्छा पनि मनभित्रै दबाएर हिँड्नुभयो । 
मेरा पुरुष मित्रहरू धेरै हुनुहुन्छ र हामी कहिल्यै महिला र पुरुषबीच विभेद पनि गर्दैनौँ । तर, कुनैकुनै कुरा यस्ता हुँदारहेछ्न्, जुन हाम्रो पितृसत्तादेखि जोडिएको छ । हो, म महिला हो तर मलाई घरायसी काम खासै आउँदैन, न त गर्न नै मन पर्छ  । तर, यसको मतलब यो होइन कि मलाई केही आउँदैन । आफूलाई चाहिनेजति घरायसी काम गर्न म सक्छु । तर, यो समाज र पितृसत्तात्मक सोचले एउटा छोरी, बुहारी मान्छेसँग गरेको अपेक्षाभन्दा ज्यादै कम ।
मेरा केही पुरुष मित्रहरू घरायसी कार्यमा अत्यन्तै रुचि राख्ने हुनुहुन्छ । तर, उहाँहरूले गरेको कार्यको प्रशंसाभन्दा पनि खिल्ली उडाएको देख्छु । तँ पुरुष होस्, घरको काम किन गर्छस् ? तेरो घरमा दिदीबहिनी आमा, भाउजू कोही छैनन् भनेर प्रश्न गरिन्छ । के घरायसी काम महिलाले मात्रै  गर्नुपर्छ ?
के घरायसी कार्य पुरुषले गर्नु पाप हो ? नेपाली समाजमा छोरीलाई पढाइलेखाइ र घरायसी काम सकेर राम्ररी बिहे गरेर दिने भन्ने सोच हुन्छ । तर, छोराबाट पढ्ने, धन कमाउने, शहरमा घडेरी जोड्ने, बहिनी वा दिदीकै बिहेकोका लागि अर्थ जोड्ने भन्ने आशा धेरै नै राखिन्छ । आशा राख्नु गलत नहोला तर त्यही आशा अत्यधिक भयो भने कति छोराहरूका लागि त्यसले नकारात्मक असर पर्न सक्छ । छोराहरूलाई अरु काम गर्ने इच्छा भए पनि पैसा कमाउनु छ भन्ने प्रेसरले सताइरहन्छ । परिवारले पनि यसका छोराले यति कमायो, यति पठायो भनेर सुनाउँछन् ।
छोरा मान्छेले धेरै पैसा कमाउनैपर्छ, घर र परिवारका सबैको आवश्यकता पूरा गर्ने प्रमुख जिम्मेवारी लिनैपर्छ भनेर कसले भनेको होला, पितृसत्ताले ? छोरा मान्छे भनेको घरको जिम्मेवारी उठाउने भरिया हो उसले म गर्दिनँ, म थाकेँसम्म भन्न नपाउने भनेर कसले भनेको होला, पितृसत्ताले ?
यहाँसम्म कि पुरुषलाई घरको जिम्मेवार बनाउन विवाह गरिदिइन्छ तर श्रीमती जागिरे, श्रीमान् होममेकर भए वा लोग्नेले भन्दा धेरै कमाउने स्वास्नी भए भने पनि पितृसत्तालाई चित्त बुझ्दैन । त्यो व्यक्ति खुसी होला, तर अरुले कुरा काटिरहन्छन् । प्रेमीप्रेमिका डेटमा जाँदा घुमेको, खाजा खाएको आदि पैसा प्रेमीले नै तिरोस् भन्ने सोच हुन्छ । प्रेमिकाले त्यस्तो नसोचे पनि पुरुषहरूलाई मैले नै तिर्नुपर्छ खाजापानीको पैसा भन्ने प्रेसर कताकताबाट दिमागमा भरिएको हुँदोरहेछ । यो भरिदिएको केले होला, पितृ सत्ताले ?
श्रीमान्‌ले आफ्नी श्रीमतीले भनेको कुरा मान्दा, सुन्दा उसलाई ‘जोइटिङ्ग्रे’ नाम दिइन्छ । बाआमाले भनेको मान्दा, उहाँहरूका विचार सुन्दा त ‘बा-आमाटिङ्ग्रे’ भनिन्न त ? श्रीमतीले श्रीमान्‌का कुरा मान्दा, सुन्दा त पोइटिङ्ग्रे भनिन्न त ? तर, श्रीमान्‌ले श्रीमतीका विचारलाई मान्दा जोइटिङ्ग्रे भइन्छ भनेर कसले भनेको होला, पितृ सत्ताले ?
आफूभन्दा उमेरमा जेठी केटी मन परेर बिहे गरे भने पनि कुरा काट्ने उत्ति नै हुन्छन् । जेठी, बुढी केटी रोजेको भनेर अझै कति पुरुषहरूलाई खिसी गरिन्छ । यस्ता कुरा घरबाट, समाजबाट सुन्दा, मजाकको पात्र बनाइँदा उनीहरूलाई कति मन दुख्दो होला ? जेठी केटी बिहे गरे दिदीभाइ भनिन्छ, आमाछोराको नाम दिइन्छ तर यहाँ कति उदाहरण छ्न्, महिलाभन्दा २० वर्ष जेठी श्रीमान् भए पनि ती कुरालाई सहजै स्वीकार गरिन्छ । श्रीमान्‌भन्दा श्रीमती कान्छो हुनुपर्छ कसले भनेको होला, पितृ सत्ताले ?
कोही पुरुष मान्छे रुँदा आफ्नो मनको भावना पोख्दा ‘आइमाईजस्तो रुन्छस्’ भनिन्छ । मलाई सोध्न मन लाग्छ– किन ? पुरुषहहरू रुन हुँदैन र ? उनीहरूको मन ढुङ्गाको हुन्छ र ? उनीहरूलाई चोट लाग्दा दुख्दैन र ? मेरा श्रीमान् र केही साथीहरू पनि धेरै संवेदनशील हुनुहुन्छ । जब कहिलेकाहीँ उहाँले आँसु झार्नुहुन्छ अनि सबैले आइमाईजस्तो रुन्छ भन्छन् । रुनु त केवल एक मानवीय संवेदना हो नि । यसमा किन महिलाको मात्र हक ? पुरुषले रुन हुन्न, कमजोर र नामर्द मात्र रुन्छ भन्ने सोच कसले दिएको होला, पितृ सत्ताले ?

काम त काम हो तर यहाँ काममा पनि विभेद हुन्छ । कुनै पुरुषले ब्युटिपार्लरको काम वा सिलाइ सिक्यो भने उसको लिङ्गमाथि नै प्रश्न गर्ने गरिन्छ । कोही पुरुष मेकप आर्टिस्ट छ भने उसलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । पुरुषले मात्रै मोटरसाइकल चलाउनुपर्छ, महिलाले स्कुटी । पुरुषले घरबाहिरका काम गर्नुपर्छ, महिलाले घर भित्रको, किन ? आखिर आ–आफ्नो इच्छा हो नि । तर, यस्ता कामको विभेद महिला–पुरुषमा गर्ने गरिन्छ । पछिल्लो समय यस्ता कुराहरूमा धेरै हदसम्म परिवर्तन पनि आएका छ्न् । तर, पितृसत्ताले महिला, पुरुष र तेस्रो लिङ्गीप्रतिको जुन  दृष्टिकोण राखेको छ, त्यो अझैसम्म परिवर्तन हुन सकेको छैन । ती कुराको परिवर्तन अब हामीबाट हुन जरुरी छ ।
पितृसत्ताले पुरुषलाई पारेका नकारात्मक प्रभाव र उनीहरूबाट राखेका खुकुलो आस देखेर दिक्क लाग्छ । पितृसत्ता भनेको पुरुषलाई प्रधान मान्ने एउटा सामाजिक प्रणाली हो, जसले पुरुषलाई सत्ता र शक्तिको केन्द्र मान्छ । पितृसत्ताले  महिलालाई नरम स्वभाव, कमजोर आत्मविश्वास र इच्छा पूरा गर्ने वस्तुको रूपमा देख्छ भने पुरुषचाहिँ सधैँ बलियो र हट्टाकट्टा हुनुपर्छ भनेर भन्छ । यस्तो नसोच्ने पुरुषहरूलाई पनि सोच्न बाध्य बनाउने संस्कारलाई पुरुषत्व ठान्ने पितृसत्ताको विरोध गर्नु सबै लिङ्गीका लागि फाइदाजनक कुरा हो । हो, हामी यही पितृसत्ताको विरोधी हौँ । उनीहरूप्रति लादिएका अनेक आर्थिक, सामाजिक भार कम गर्ने र उनीहरूलाई बुझ्ने प्रयास हामी सबैले गर्नुपर्छ । त्यसैले सबैले पितृसत्ताको विरुद्धमा लड्नु जरुरी छ, ताकि हरेक लिङ्गी एकअर्काको सहयोगी हुन सकियोस् ।
हाम्रो लडाइँ पुरुषलाई सानो बनाएर महिलालाई शक्ति र सत्ताको केन्द्र बनाउने होइन, पितृसत्ताको सट्टा मातृसत्ता ल्याउने होइन, हाम्रो लडाइँ त समानताको हो । म भन्न चाहन्छु, हामी तपाईंको विरोधी या कुभलो चिताउने व्यक्ति होइनौँ । हामी तपाईंका साथी हौँ । बस तपाईंसँग एउटै धरातलमा उभिन चाहन्छौँ । तपाईं र हाम्रा दु:खका स्रोत एउटै हुन् । पितृसत्ताले थोपरिदिएका अनेक दु:ख र अपेक्षासँग खेल्दै, जुझ्दै बाँचिरहनुभएका सबै पुरुषहरूलाई मेरो हृदयदेखि सलाम । अबको लडाइँ सत्ताको होइन, समानताको हुनुपर्छ । कामको समानता, भावनाको समानता । त्यसैले यो पितृसत्ताविरुद्धको लडाइँ हामी सबै लिङ्गी मिलेर गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *