नेपालगंज, १४ चैत्र-आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ ।
सोमबार नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सम्पन्न फाईनल खेलमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । १० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । लीग कम नक आउट प्रणालीमा संचालन गरिएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि खेलाईएको थियो । मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणा, पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, युक्यानका सिइओ राजन महर्जन, सगरमाथा सिमेन्टका प्रतिक अधिकारी, भैरवप्रसाद गणका गणपती जनमत कार्की लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कार बितरण गरेका थिए ।
प्रधानमन्त्री कप महिला भलिबलको उपाधी भारतको हरियाणा स्पोर्टस् क्लबलाई
