नेपालगन्ज ०७ फागुन-निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलन बर्दियाको मिर्चैयामा सम्पन्न भएको छ । देशको ५ जिल्लामा रहेका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायहरुले आइतवार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित मिर्चैयामा सम्पन्न भएको हो । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर बसोवास गर्दै आएका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायका निमनकुसुम्हया थारु गोत्यार समाजले सक्रिय बनाएर विगत १५ बर्षदेखि देशको फरक फरक स्थानमा सम्मेलन मार्फत जमघट गर्दै आएको आयोजकले जनाएको छ ।
थारु समुदाय अन्तर्गत पनि विभिन्न थर, गोत्र हुने भएकाले आफ्नो थर पहिचान, गोत्यारबीच भेटघाट र आत्मीयता बढाउन सम्मेलन गर्दै आएको थारु आयोगका अध्यक्ष बिष्णु थारुले बताउनुभयो । पछिल्लो समयमा युवा पुस्ताले आफ्नो थारु भाषालाई लाज मान्ने र नेपालीमै बोल्ने भएपछि थारु संस्कृती र थारु भाषालाई जोगाउन नै कठिनाई हुँदै गएको उहाँले बताउनुभयोे । युवा पुस्ताले आफ्नो भाषा, भेषभुषा, संस्कृति, कलालाई बिर्सिदै गएकोले युवा पुस्तालाई थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति, कलालाई हस्तान्तरण गर्न निमनकुसुम्हया थारु गोत्यार समाजको महत्वपुर्ण भुमिका रहने थारु आयोगका अध्यक्ष बिष्णुले बताउनुभयो ।
थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति, हस्तकला नै थारु समुदायको पहिचान भएकोले सबै थरका थारुहरु एकबद्ध भएर आफ्नो पहिचानलाई जोगाई राख्न आवश्यक रहेको लुम्बिनी प्रदेशको सांसद कृष्णी थारुले बताउनुभयो । थारु समुदायको उत्थानका लागि गोत्यारको भुमिका अपरिहार्य रहेको उहाँले बताउनुभयो । गोत्यार सम्मेलनले थारु समुदाय भित्र रहेको गोत्यार गोत्यारको विवाहलाई रोकथाम तथा आपसी अपनत्वबोधलाई उजागर गर्ने गरेको उहाँले बताउनुभयो ।
थारु समुदाय भित्र पनि थुप्रै थर र एकता नभएकोले सरकारबाट पाउने सेवा सुबिधामा पनि बाधा अडचन आउने गरेको समाजसेवी बुद्धिजिबी मिनराज थारुले बताउनुभयो । थारु समुदायको संस्कृति कहाँ गईरहेको छ, थारुको पहिचान के, यसलाई संरक्षण किन, यस्ता थुप्रै प्रश्नको निष्कर्ष निकाल्न सबै थारु समुदायले एकबद्ध भएर लाग्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा ५ जिल्लाका ५२ गाउँमा बसोबास गर्ने निमनकुसुम्हया थारु गोत्यारको सहभागिता रहेको थियो । देशभर १७ लाख थारु जनसंख्या रहेका छन् । सम्मेलनले लोकसेवा आयोग पास गरेका तथा उत्कृष्ट व्यवसायी निमनकुसुम्हया गोत्यारलाई सम्मान गरिएको छ । लोकसेवा आयोगबाट लक्ष्मण निमन कुसुम्हया, खुशीराम निमन कुसुम्हया, राजकुमार निमन कुसुम्हया, जनकराम थारु, गलुराम निमन कुसुम्हया, लाल बहादुर निमन कुसुम्हया रहनुभएको छ । यस्तै सफल व्यवसायीमा शुशिला निमन कुसुम्हया, भिम बहादुर निमन कुसुम्हया, बुद्धि निमन कुसुम्हया, किरालाल निमन कुसुम्हया, राम कुमारी निमन कुसुम्हया, नारायण निमन कुसुम्हया, आशाराम निमन कुसुम्हयालाई सम्मान गरिएको छ ।
उक्त निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलनमा समाजसेवी तथा बुद्धिजिवी मक्कु थारु, बुद्धिराम थारु, लहनु थारु, ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्साल, वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष भावकु योगी, आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता श्रीराम थारुले गर्नुभएको थियो । निमनकुसुम्हया थारु गोत्यार समाज मुल आयोजक समितिको आयोजनामा भएको थियो भने निमन कुसुम्हया थारु गोत्यार समाज जिल्ला कार्यसमिति बर्दियाले व्यवस्थापन गरेको थियो ।
बर्दियाको मिर्चैयामा निमनकुसुम्हया थारु गोत्यार सम्मेलन सम्पन्न
