बाँके– आसन्न निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका बाँके क्षेत्र नं २ का उम्मेदवारहरू मतदान आफ्नो पक्षमा बनाउन आ–आफ्नै रणनिति तयार पारेर चुनावी मैदानमा उत्रिएका छन् । चुनावी सरगर्मि बढेसंगै कोही घरदैलोमा निस्केका छन्, भने कोही राम्रो जनमत भएका प्रभावशाली व्यक्तिहरूलाई आफ्नो एजेण्डामा सहमत बनाउन प्रयासरत छन् ।
राम्रो जनमत भएका बाँकेका प्रभावशाली नेता भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद इश्तियाक राईलाई पनि यतिवेला चुनावी रन्कोले छोएको छ । यसै सन्दर्भमा पछिल्लो समय नेता राई अन्य राजनीतिक दलका नेता–कार्यकर्तालाई आफ्नो दलमै भित्र्याएर आफू बलियो बन्दै गएका छन् ।
नेता राईले पछिल्लो समय दिनहुँजसो २ नम्बर क्षेत्रका नेपालगन्ज र डुडुवाका परिचित अनि प्रभावशाली अनुहारलाई पार्टी प्रवेश गराउने क्रमलाई तिव्रता दिएका छन् । आज मात्रै बाँके क्षेत्र नं २ का करिब ५० जना व्यक्तिलाई जसपाका उम्मेदवार राईले आफ्नो पार्टीमा भित्र्याएका छन् । रेशम परियार र देवेन्द्र कुमार शर्माको नेतृत्वमा दुई समूहलाई आज राईले जसपा प्रवेश गराएका हुन् । मन्त्री राई लगायत जसपाका स्थानीय नेताहरूले उनीहरूलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।