बाँकेमा दुर्गा भवानीको मूर्ति शान्तिपूर्ण रुपमा विसर्जन

मुख्य खबर समाचार


नेपालगन्ज–नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको बुधवार विधिवतरुपमा विसर्जन गरिएको छ ।
नेपालगन्ज सहित बाँकेका बिभिन्न स्थानमा घटस्थापनको दिमा स्थापना गरिएको ७ सय बढी भवानीको मूर्ति बाँकेका सिधनिया, अगैया, मानखोलालगायतका घाटमा लगेर विसर्जन गरिएको हो ।
१० दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई बुधबार नगरको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा विसर्जन गरिएको हो ।
मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो । बुधवार दिनभर जिल्लामा मदिरा निषेध गर्नुका साथै घुसपैठबाट र्यालीलाई जोगाउन जमुनाहा नाका समेत सील गरिएको थियो ।
ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गा मूर्ति सेलाउन लैजाने क्रममा केही समय नेपालगन्जको ट्राफिक अस्तब्यस्त हुन पुगेको थियो ।
कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र सबै बाँकेबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्णरुपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए । केहि दिनअघि भएको झडपको घटनाबाट पाठ सिकेर प्रशासनले ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, फुल्टेक्रारोड, घरबारी टोल, विपि चोक लगायतका घरका छतमा समेत सुरक्षाकर्मी तैनाथ गराएको थियो ।
मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत निगरानी गरेको समेत प्रहरीले जनाएको छ । सुरक्षास्थितिको बारेमा बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाष चन्द बोहरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख समेत र्यालीमा खटिएका छन् । उनीहरु त्रिभुवन चोक, त्रिवेणीमोड, राप्ती रोडमा आफै खटिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *