नेपालगन्ज-बाँके जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । प्रदेश खेलकुद विकास ऐन २०७६को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम १ मा भएको व्यवस्था बमोजिम ९ सदस्य जिल्ला खेलकुद विकास समिति गठन भएको थियो । उक्त समितिले आईतबार एक कार्यक्रमका विच नेपालगन्ज रंगशालास्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाले बाँके खेलकुदमा अहिले युवाहरुको टिम आएकाले यस टिमले राम्रो काम गर्ने विश्वास लिइरहेको वताएका थिए । उनले खेलकुद क्षेत्रको विकासका लागी खेल प्रशिक्षक, खेलाडी र समिति विच समन्वय तथा सहकार्य गरेर अगाडि वढ्नु पर्ने वताए । यस्तै कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बाँके अध्यक्ष संदिपजंग शाहले बाँके जिल्लाको खेलकुदमा देखिएका अनियमितालाई आफुले रोक्ने र खेलाडी र प्रशिक्षकहरुलाई उच्च मनोवलका साथ काम गर्ने वातावरण वनाउने वताए । साथै नेपालगन्ज रंगशाला लगायत बाँकेमा रहेका खेलकुदका संरचनालाई जिल्ला खेलकुद बिकास समितिको मातहतमा ल्याउन आफ्नो समितिको मुख्य उद्देश्य रहेको वताए । अहिले जुन अवस्थामा बाँके खेलकुद विकास समिति रहेको छ त्यो अवस्थाबाट माथि उठाउने शाहले वताए । खेलाडीहरुले आफुले लगाएको औठी बन्धक राखेर खेल्नुपर्ने अवस्थावाट बाँके जिल्ला मुक्त गराउने वताए । बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न खेलका खेल प्रशिक्षक , खेल संघका प्रतिनिधिहरु, वरिष्ठ खेल पत्रकार टंक सिंह ठकुरी र विभिन्न खेलका खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपाध्यक्ष चेतकान्त भट्टराई , कोषाध्यक्ष विरेन्द्र शाही, महिला सदस्यहरु रेबति सिंह, मञ्जु शाह , दिपक ओली, मोहम्मद जावेद हल्वाई,रञ्जित सिंह सिंजापती र चन्द्र राना समेतले पदभार ग्रहण गरेका थिए । यसै बीच जिल्ला खेलकुद विकास समितिको आईतबार वसेको पहिलो वैठकले धन्यवाद ज्ञापन , खाता संचालन ,कार्यालय सहयोगी राख्ने, रंगशाला सरसफाई र बाँकेमा रहेका सवै स्थानिय तहमा किशोरीहरुलाई आत्मरक्षा अभिबद्धि कार्यक्रम संचालन गर्ने विभिन्न छ वटा निर्णय गरेको छ ।
बाँके जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीहरुले गरे पदभार ग्रहण
