बालअधिकार र न्यायीक समितिलाई जिल्लास्तरीय मनोविमर्श तथा घट्ना व्यवस्थापन तालिम

समाचार

नेपालगन्ज, ११ भदौ-बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा जिल्लास्तरीय मनोसामाजिक मनोविमर्श तथा घट्ना व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो पाँच दिने तालिम सञ्चालन गरिएको हो ।
बर्दियाको गुलरिया, बाँसगढी र राजापुर नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चारवटा पालिकाका बालअधिकार समिति, न्यायीक समिती, प्रहरी, वकिल लगायतका लागि सो तालिम सञ्चालन गरिएको क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो ।
उहाँले पाँचदिनसम्म सञ्चालन हुने सो तालिममा बाल संरक्षण, बालविवाह रोकथाम, विभिन्न खालका पिडितलाई कसरी मनोसामाजिक सेवा र मनोविमर्श प्रदान गर्ने भन्ने बारेमा विशेष प्रशिक्षण दिइने बताउनुभयो ।
पालिकास्तरमा रहेका बालअधिकार समिति र न्यायिक समितिको क्षमता विकास गरेर उनिहरुलाई बालविवाह रोकथामका लागि तयार पार्ने उदेश्यले सो तालिमको सञ्चालन गरिएको क्लबले जनाएको छ ।
बर्दियाका चारवटा पालिकाबाट छनोटमा परेका १५ जनाको सहभागिता रहेको सो तालिमको सहजीकरण प्रशिक्षक इन्द्र केसीले गरिरहनु भएको परियोजनाका संयोजक बसन्त कुमार विसीले बताउनुभयो ।
देशका हरेक पालिकामा एकजना मनोसामाजिक तथा मनोविमर्श विशेषज्ञ हुनु पर्ने सरकारको प्रावधान रहेकोले सोही अनुसार स्थानीय तहको समन्वयमा पालिकामा मनोसामाजिक तथा मनोविमर्श सम्बन्धि जानकारको उपस्थितिका लागि यो तालिमको आयोजना गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
तालिममा सहभागि अधिकांशले यस्तो प्रकारको तालिम अतिनै आवश्यक र प्रभावी रहेको जनाउँदै विभिन्न प्रकारका घट्नाहरुबाट पिडित भएका बालबालिकालाई मनोसामाजिक तथा मनोविमर्श गर्न सहज हुने प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *