बाँकेमा कोरोना माहामारी सुध्रिदै

कोरोना विशेष मुख्य खबर समाचार

बाँके २२ जेठ- कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले सबैभन्दा बढी संक्रमण बाँकेको नेपालगञ्जमा फैलियो । संक्रमण उच्च गतिमा फैलदा मृत्यु हुनेको संख्या पनि बढ्दै गयो । हरेक घरमा संक्रमित भेटिन थाले । अस्पतालमा थामि नसक्नुको भीड भयो । अक्सिजनको अभाव, चिकित्सकको अभाव हुँदै गयो ।
बाँकेले वैशाख सुरुका दिनमा भोगेको पीडाले सिंगो देशलाई नै महामारी रोकथाम गर्न पाठ सिकाइरहेको थियो । तर, पनि राज्यले समयमा नसुन्दा धेरैको मृत्यु भयो । अहिले पनि बाँकेमा संक्रमित थपिरहेका छन् । तर, केही सहज भएको छ । संक्रमित अस्पतालबाट घर फर्कने आश बोक्न थालेका छन् भने निको भएर डिस्चार्ज हुने क्रम पनि बढेको छ । कोरोना संक्रमणको दोस्रो लहरले थलिएको बाँकेमा हालका दिनहरूमा कोरोना संक्रमण दर र मृत्यु दरमा कमि हुदै आएको छ । बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा देखिए संगै कोरोना संक्रमितको उपचार हुँदै आएका भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालका शैया खाली भएका छन् ।
लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट रिफर भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० शैयामध्ये ४४ शैया खाली भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० शैयामध्ये ५२ शैया खाली छन् । अठहत्तर बिरामी भर्ना भएकोमा ७० सिकिस्त छन् । यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल शैयामध्ये १३ शैया र युनाइटेड अस्पतालका १५ शैयामध्ये १० शैया खाली भएका छन् ।

बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *