नेपालगन्ज–जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ । सोमवार बेलुकी करिब ६ बजे भारतीय वायु सेनाको के सी ३८०७ विमान राहत सामग्री बोकेर नेपालगन्ज विमानस्थलमा अवतरण गरेको हो ।
भारतले तत्कालका लागि १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामाग्री सहयोग गर्ने केही दिनअघि घोषणा गरेको थियो । यसअघि आइतबार अपराह्न पनि भारतीय वायुसेनाको विमानले राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थलमा झारेको थियो ।
भारत सरकारको सहयोगमा विमानमार्फत नेपालगन्ज विमानस्थलमा सोमवार पठाइएको सामग्रीलाई भारतीय राजदुतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवले नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
भारतले प्रदान गरेको सामाग्रीहरुमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटर लगायत चिकित्सा उपकरण रहेको बताइएको छ । आइतवार भारतबाट आएको सबै राहात सामग्री सोमवार राति नै जाजरकोट र रुकुमपश्चिमा पठाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
भारतले जाजरकोट र रुकुम(पश्चिम) का भूकम्प पीडितका लागि पठाएको दोस्रो खेपको राहत आईपुग्यो
