भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनीमा आउँदै

मुख्य खबर समाचार

नेपालगन्ज, बैशाख २९–आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए ।
मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आइसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।
बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती सुरु गरिसेकेको छ । ‘भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हेरेको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले भने, ‘लुम्बिनीसहित आसपासका सबै क्षेत्रमा त्रुटिरहित उच्च सुरक्षा सतर्कता अपनाएका छौं । मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ ।
मोदी जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएको छ । उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।
लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । मोदी लुम्बिनीमा २ देखि ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *