महिला साफ च्याम्पियनसिपको इतिहासमा साविक विजेता भारत नेपालसँग पराजित

खेलकुद मुख्य खबर

काठमाण्डाै-दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन ।

नेपाल र बंगलादेशले अब साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा खेल्नेछन् । घरेलु मैदानमा नेपाल र बंगलादेश बीचको फाइनल खेल सोमबार हुनेछ । साफले नयाँ महिला च्याम्पियन पाउने पक्का भइसकेको छ ।

भारतले सुरुवाती तीन संस्करणको फाइनलमा नेपाललाई पराजित गरेको थियो । सन् २०१६ मा भने नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । त्यसबेला बंगलादेश भारतसँग फाइनलमा पराजित भएको थियो । विराटनगरमा भएको पाँचौ संस्करणमा नेपाल पुन: एकपटक भारतसँग फाइनलमा हारेको थियो । यसपटक भने नेपालले सेमिफाइनलमा भारतलाई घर पठाउँदै फाइनल यात्रा तय गर्यो ।

शुक्रबार दशरथ रंगशालामा नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । रश्मीकुमारी घिसिङले गरेको गोल नै नेपालको जितमा निर्णायक सावित भयो ।

३३ अ‍ौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन ।
४२ अ‍ौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन । इन्ज्युरी समयमा नेपालले गोल गर्दै अग्रता लिन‌ सफल भयो ।

५७ अ‍ौं मिनेटमा रश्मीको प्रहार फितलो रहँदा गोलरक्षक अदितिले सहजै बचाइन् । लगत्तै रश्मीको अर्को प्रहार अदितिले दोस्रो प्रयासमा बचाइन् ।

७६ अ‍ौं मिनेटमा सौम्याको प्रहारलाई गोलरक्षक एन्जिलाले बचाइन् । ८३ अ‍ौं मिनेटमा सौम्याको क्रसमा ६ यार्ड बक्सभित्र बल क्लियर नहुँदा भारतले गोल फर्काउने अवसर पाएको थियो । तर नेपाली डिफेन्सले दोस्रो प्रयासमा बल क्लियर गर्दै खतरा टार्यो ।

यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । भुटानलाई ८-० हराउँदै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *