नेपालगन्ज, ३ कार्तिक–निर्वाचन आयोग नेपालले आज नेपालगन्जमा मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९, प्रदेशस्तर मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको हो ।अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आचारसंहिताको उल्लंघनमा मिडियालाई ’वाच डग’ को भूमिका निभाउन आग्रह गरेकी छिन् । उनले विगतका निर्वाचन जस्तै यसपटक पनि मिडियाबाट निष्पक्ष भूमिकाको निरन्तरता आयोगले खोजेको बताइन् ।उनले बदर मत घटाउन आयोगले मतदाता शिक्षालाई जोड दिँदै प्रचारप्रसारलाई अगाडि बढाएको उल्लेख गरिन् । आयुक्त तुलाधरले आचारसंहिता पालना कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै मिडियाबाट प्राप्त हुने सूचना र सन्देश आयोगका लागि कोशेढुंगा सावित हुने बताइन् । मिडियालाई सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्न उनले आग्रह गरिन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तह निर्वाचन २०७९ मा बाँकेमा पत्रकार र मिडियाले खेलेको भूमिकाको सराहना गरे । मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश धनसिंह महराले मतदान कार्य स्वच्छ, निष्पक्ष र भयरहित ढंगले संचालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले निर्वाचन र संचार माध्यम तथा राष्ट्रिय समाचार समितिका नायब महाप्रबन्धक राजु शाक्यले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
मिडियाकर्मीलाई निर्वाचन सम्बन्धी अभिमुखिकरण
