‘मुलधारे काँग्रेसलाई लखेट्न थालियो’ – गोविन्दराज जोशी

अन्तर्वार्ता

नेपाली कांग्रेसको अनुशासन समितिले शनिवार पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई कारवाही गरेको छ।

कारवाहीपछि असन्तुष्टि जनाउँदै जोशीले १७ बुँदे स्पष्टिकरण अनुशासन समितिलाई पेश गरेका छन्। स्पष्टिकरणमा जोशीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाहीको कारकका रुपमा प्रस्तुत गरेका छन्। पाँच वर्षसम्म निस्काशन गरे पनि काँग्रेसमै क्रियाशील रहने उद्घोष पनि जोशीले गरेका छन्। यसै सन्दर्भमा जोशीसँग गरिएको संक्षिप्त कुराकानी:

तपाईँलाई त  पार्टीबाट कारबाही भयो। अब के गर्नुहुन्छ?

अब जिल्ला जाने हो। कार्यकर्तासँग रायसल्लाह लिने हो। कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि छलफल हुँदैछ।

पार्टीका आधिकारिक उम्मेद्वारलाई सहयोग नगरेपछि कार्यकर्ताले स्वीकार्लान र?

चुनावमा कसरी असहयोग गरेँ? यस्तो हाइपोथेटिकल कुरा गरेर पनि हुन्छ? चुनावमा मैले कहाँ बोले पार्टीका उम्मेद्वारलाई हराउँ भनेर? रामचन्द्र पौडेल कसरी परिचालित भए मलाई थाह भएन।

पौडेललाई नै दोष लगाउनुहुन्छ?

हो। पौडेल कुत्सित् भावना भएका मान्छे हुन्। तनहुँका जनतालाई थाहै छ। कुण्ठाको भावना बोकेर कतै पुगिँदैन।

जातिगत विषयलाई पनि उठाउनु भएको रहेछ?

त्यो स्पष्ट छ। तनहुँ ६५ प्रतिशत जनजाति भएको जिल्ला हो। त्यहाँ गएको निर्वाचनमा सबै ब्राह्मणबाट उम्मेद्वार बने। जसमा ३ जना त पौडेल थरकै। त्यहाँका गुरुङलाई पौडेलले देखि सहन्नन्। पौडेल ‘क्लास’ विरोधी हुन्।

तपाईँ कसरी समेट्नु हुन्छ त यो जातीय कुरालाई?

हेर्नुस्, म त बीपीको बाटोमा हो। सबै जातिलाई नसमेट्नु भनेको काँग्रेसलाई सिध्याउनु हो।

तपाईँलाई कारबाही र राप्रपाका सुनिल थापाको काँग्रेस आउने चर्चा एकै दिन भयो नि?

यो मेनस्ट्रिमका मान्छेलाई लखेटेर काँग्रेसको सिद्धान्त सक्काउने खेलो हो। काँग्रेस संस्कृतिमा हुर्केकालाई निरन्तरता नदिने मेसो हो। सिद्धान्तविनाको पार्टी पार्टीजस्तो मात्र देखिन्छ। तर, वास्तावमा त्यसलाई जनताले स्वीकार्दैन।पहिलोपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *