नेपालगञ्ज, फागुन ५–‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन शनिवार नेपालगन्जमा हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन नेपालगन्जको पासाङ्गल्हामु रोेडमा रहेको ब्राइट ल्यान्ड कलेजमा हुन लागेको हो । अडिसनको बारेमा शुक्रवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै ठूलो धनराशी पुरस्कार सहितको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो आयोजना गर्न लागेको आयोजकले जनाएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरु आफ्नो उमेर खुल्ने आधिकारिक कागज लिएर आउनु पर्ने र अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनुपर्ने रियालिटी शोका निर्देशक एलिन श्रेष्ठले बताउनुभयो ।
आयोजकका अनुसार ‘मेरो भ्वाइस यूनिभर्सका विजेताले एक करोड रुपैयाँ पाउने छन् । यस्तै मेरो डान्स यूनिभर्सका विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । सँगै फस्ट रनरअपहरु ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाका विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सँगै फस्ट रनरअपले १० लाख, सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपालगञ्जमा हुने पहिलो अडिसनममा कर्णाली र सुदुर पश्चिम प्रदेश सहित बाँके बर्दिया क्षेत्रका प्रतियोगीहरु धेरै संख्यामा सहभागी हुने अपेक्षा गरिएको निर्देशक श्रेष्ठले बताउनुभयो । सँस्कृतिक समुह विधाकोलागि कुनै समुदाय विशेष डान्सलाई प्राथमिका दिईने उहाँले संकेत गर्नुभयो । यी दुबै कार्यक्रको अडिसन नेपालका विभिन्न शहरसँगै भारतको सिलुगुरीमा पनि हुने आयोजकले जनाएको छ । जस अनुसार नेपालगञ्जमा भोली फागुन ६ गते, बुटवलमा फागुन १० गते सिलुगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाण्डौमा फागुन २७ र २८ गते हुने छ ।
मेरो भ्वाइस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरुहरु समावेस हुने जनाईएको छ । यस्तै मेरो डान्स यूनिभर्सको निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई रहनेछन् ।
‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन शनिवार नेपालगन्जमा हुने
