म जनताको सेवाका निमित्तराजनितीमा आएको हुँ : कांग्रेस सह-महामन्त्री राठौंर

मुख्य खबर समाचार

नेपालगन्ज : नेपाली कांग्रेसका सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौंरले समाज र देशका लागि काम गर्न आफु राजनीतिमा आएको बताएका छन् । केही पाउनका लागि राजनीतिमा आफु नलागेको उनले प्रष्ट्याए ।

नेपाल प्रेस युनियन बाँकेले युनियन सम्वद्ध पत्रकारसँग शनिबार नेपालगन्जमा गरेको भेटघाट तथा छलफललाई सम्बोधन गर्दै सह-महामन्त्री राठौंरले भने, ‘मैले केही पाउनको लागि राजनीति गरेको होईन, मैले देशका लागि राजनीति गरेको हो, समाजका लागि राजनीति गरेको हो, मैले जति सक्छु, जहिलेसम्म सक्छु, राजनीति गर्छु ।’

अर्को प्रसंगमा उनले प्रेस सबैभन्दा सचेत वर्ग भएको बताउँदै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउने महत्वपूर्ण भुमिका प्रेसको हुने बताए । आफु विगत ६० वर्षदेखी बाँकेबासी भएको स्पष्ट पार्दै सहमहामन्त्री राठौंरले भने, ‘बाँकेमा मेरो ६० वर्षदेखी घर छ, म सल्यानमा जन्मिएको हुँ, बिद्यार्थी राजनीति काठमाडौंमा गरेको हुँ, सुशिल दाई र मेरो बाँके २ नम्बरमा एउटै क्षेत्र परेको हुनाले बर्दियाको अनकन्टार क्षेत्रमा गएर त्यहाँ पार्टीको राजनीति गरेको हुँ ।’ बाँकेको मान्छे त्यहाँ गएर जिरोबाट राजनीति सुरु गरेको भन्दै विगतलाई स्मरण गरे ।

आफुले अब बाँकेको क्षेत्र नम्बर ३ र समग्र बाँके जिल्लाको विकासका निम्ति काम गर्ने बताए । कुनैपनि पार्टीका केन्द्रिय स्तरका नेताहरु जुनसुकै जिल्लामा गएर पनि चुनाव लड्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै उनले आफु बाँकेबासी भएर बाँके जिल्लामै चुनाव लड्न लागेकाले यसमा कोही भ्रमित हुन नपर्ने बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा युनियनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा उपस्थित युनियनसम्वद्ध पत्रकारले आ-आफ्ना सुझाव दिदै आगामी निर्वाचनमा पेशागत आचार संहिता पालना गर्दै कांग्रेससहित सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *