नेपालगन्ज, कार्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई बाँके युनेस्को क्लबले विभिन्न राहत वितरण गरेको छ ।
स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित परिवारलाई करिब ४५ लाख रुपियाँको राहत वितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीका अनुसार राजापुर १ का ५७२ प्रभावित परिवार र गेरुवा २ र ३ का २९३ परिवारलाई विभिन्न राहत वितरण गरिएको बताउनुभयो ।
क्लबले वितरण गरेको राहतमा हाइजिन किट, डिगनिटि किट, खाद्यान्न, पोषण सहयोग, कृषि विउ वितरण, शौचालय मर्मत सम्भार र खानेपानीका धाराहरुको मर्मत गरिएको संरक्षक सिद्दिकीले बताउनुभयो ।
सो सहयोग पाएपछि त्यसबाट पिडित परिवारलाई निकै राहत मिलेको प्रभावित वडाका जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहत वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहत दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो । तत्काल मिलेको यो सहयोगले जनजिवनलाई लयमा फर्काउन ठुलो मद्दत गरेको वडा अध्यक्ष थारुले बताउनुभयो ।

राहत पाएपछि आफुहरुलाई धेरै सहज भएको पिडितहरुले पनि बताएका छन् । गेरुवा ३ संकटी सुकुम्वासी बस्तीका हिरा थारुले क्लबले दिएको सहयोगबाट आफुहरुलाई निकै राहत मिलेको बताउनुभयो ।
उहाँले सो सहयोग नपाएको भए दैनिक जिवनयापन गर्न निकै समस्या पर्ने पनि बताउनुभयो ।
यस्तै सोही बस्तीका अर्का पिडित जमुना थारुले क्लबले दिएको खाद्यान्न र पोषणयुक्त खानेकुराले बालबालिकालाई खुवाउन धेरै सहयोग मिलेको बताउनुभयो । सो बस्तीमा अधिकांशका घरहरु पुर्ण रुपमा डुबेकोले क्लबले शौचालय र धाराको समेत मर्मत गराएर राम्रो काम गरेको स्थानीय पिडितहरुको भनाई छ ।