युवा महिलाहरुको आर्थिक सशक्तिकरणका लागि बाँके युनेस्कोद्वारा तालिम संचालन

समाचार

नेपालगन्ज, भदाै ८-युवा महिलाहरुको आर्थिक शसक्तिकरणका लागि बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको गुलरिया र ठाकुरबाबा नगरपालिकामा सिप विकास तालिम सञ्चालन गरेको छ । प्लान नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम ( पर्ल ) अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो ।
बुधबार बर्दियाको गुलरियामा तालिमको उद्घाटन गर्दै क्लबका अध्यक्ष तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो । उहाँले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकाका १२० जना अति विपन्न तथा जोखिममा रहेका युवा महिलालाई शिपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यमी सृजना गर्ने अर्थात व्यवसाय शुरुआत गर्न लगाउने र ६० जनालाई रोजगारीको अवसर प्रदान गर्ने जानकारी दिनुभयो ।
कार्यक्रमको समयावधी २१ महिना रहेको परियोजना संयोजक गोबिन्द लामिछानेले जानकारी दिनुभयो।
त्यस्तै क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले कोभिड १९ को कारणबाट पर्न गएको आर्थिक प्रभावलाई कम गर्न अति जोखिममा रहेका युवा महिलाको शिप र ज्ञान अभिबृद्धि गरि स्थानीय बजार सुहाउँदो व्यवसाय सञ्चालन गरेर वा रोजगार प्राप्त गरेर आर्थिक रुपमा सशक्त बनाइने परियोजनाको उदेश्य रहेको बताउनुभयो । तलिममा सहभागी हुन आउनु भएका अधिकांश युवा महिलाले आफ्नो आर्थिक अवस्था निकै नाजुक रहेको बेला यो तालिम पाएर स्वरोजगार बनेर जिवनयापन गर्न सहज हुने आशा व्यक्त गरेका थिए । तालिममा सहभागी गुलरिया नगरपालिका वडा नम्बर ११ जोशीपुरकीआशा कुमारी थारुले तालिमले आफुहरुको आत्मबिश्वास बढाएको बताउनुभयो । उहाँले तालिमबाट हासिल गरेको सीपले महिलाहरुलाई सक्षम उद्धमी बनाउने कुरामा ढुक्क रहेको बिश्वास ब्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षहरु रुद्र सुवेदी र झलक गैर, पत्रकार नरेन्द्र थापा तथा सिराज खान लगायतको उपस्थिति रहेको थियो ।
चार दिनसम्म चल्ने सो तालिमका प्रशिक्षक डिला प्रसाद ओली रहनु भएको र तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा जानकारी दिने बाँके युनेस्को क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *