विश्वकप लिग -२ मा नेपालद्वारा ओमान ७ विकेटले पराजित

खेलकुद मुख्य खबर समाचार

अन्तिम तथा चौथों खेलमा घरेलु टोलि ओमान बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै नेपालले आईसीसी विश्वकप लिग -२ मा चौथों जित दर्ता गर्न सफल भएको छ। ओमान बिरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमै यो पहिलो जित हो।

घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

१६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । शेख व्यक्तिगत ४० रनमा आउट भए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि ओमानका ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हालेपनि अरु ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४/४ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिए भने करणले ८ ओभरमा १ मेडन राख्द‌ै २५ रन दिए ।

लिग टू मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । ८ खेलबाट नेपालले ४ जित र ४ हार नतिजासहित ८ अंक नै जोडेको हो ।

नामिबिया समान ८ अंक भएपनि नेपाल रनरेटमा अघि रहेको छ । ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग टू बाट शीर्ष तीन टोली २०२० जुलाईमा जिम्बाब्बेमा हुने ग्लोबल क्वालिफायरमा पुग्नेछ । बाँकी चार राष्ट्रले पनि ग्लोबल क्वालिफायर पुग्नका लागि प्लेअफ खेल्ने मौका पाउनेछ ।

ग्लोबल क्वालिफायरमा सुपर लिगका पुछारका ५ टिम, लिग टूबाट शीर्ष ३ टिम र प्लेअफबाट २ दुई कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट उत्कृष्ट दुई टोलीले २०२३ मा ओडिआई विश्वकप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *