नेपालगन्ज, ३० असोज–शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।
उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।
जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।
उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा आज बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको थियो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने
