लुम्बिनी, ३ असाज-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको रक्षा र कार्यान्वयनका लागी सबै राजनीतिक दलहरु एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको संविधान दिवस–२०७८ कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले नेपाली जनता र शहिदहरुको सपना पुरा गर्न बनेको संविधानको रक्षा र कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर लाग्नुपर्ने बताउनुभयो । उहाँले नेपाली जनताको बलिदानीले ल्याएको लोकतन्त्रको रक्षाको निम्ति सम्पूर्ण राजनीतिक दलले स्वामित्व लिनुपर्ने बताउदै संविधानको रक्षा र कार्यान्वयनका लागी कोही पनि पन्छिन नहुने जिकिर गर्नुभयो ।
मुख्यमन्त्री केसीले संविधानले सबैको हक,अधिकार सुनिश्चित गरेको दाबी गर्नुभयो । उहाँले जात,जाति,भाषा,रङ्ग र पहिचानका आधारमा कोही पनि विभेदमा नपरेको बताउनुभयो । केसीले संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री केसीले संविधान कार्यान्वयनका लागी केही चुनौतिहरु आए पनि राष्ट्र अब सहि ट्रयाकमा फर्किएको बताउनुभयो । कार्यक्रममा प्रदेश प्रमुख लुम्बिनी अमिक शेरचन,सभामुख पूर्ण बहादुर घर्ती मगर,उपसभामुख कृष्णी थारु,पर्यटन तथा सहकारी बिकास मन्त्री डिल्ली चौधरी लगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा सम्मान गर्ने घोषणा गरिएको थियो ।