सात लाखको गौरव स्मृति अक्षय कोषको घोषणा

समाचार

नेपालगन्ज-गौरव फाउण्डेसन एण्ड बि-योर सेल्फका संस्थापक गौरव शाहको स्मृतिमा गौरव स्मृति अक्षय कोषको घोषणा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ निवासी २२ वर्षीय शाहको गएको असार एक गते निधन भएको थियो । मंगलबार गौरवको जन्मदिन पारेर सात लाखको गौरव स्मृति अक्षय कोष स्थापना गरिएको उहाँका वुवा प्रदीप शाहले जानकारी दिनुभयो । अक्षय कोषमा सात लाखको चेक हस्तान्तरण गर्दै शाहले उक्त अक्षय कोषबाट आउने रकमले विपन्न तथा गरिव समुदायका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने बताउनुभयो ।

उक्त अक्षय कोषमा औषधी व्यवसायी संघ बाँकेका महासचिव जिवन शर्माले २५ हजार, साहु समाज बाँकेले २१ हजार र समाजसेवी माधवराम वर्माले २५ हजार रुपैया सहयोगको घोषणा गर्नुभएको थियो । सामाजिक र मानवीय सेवामा समर्पित गौरव फाउण्डेसन गौरव शाहकै परिकल्पनामा २०७७ साल कार्तिकमा स्थापना भएको थियो । स्थापनाको एकवर्षमै गौरव फाउण्डेसनले गरिव तथा विपन्न समुदायलाई खाद्यान्न, लत्ताकपडा वितरण, सरसफाई, लागु औषधविरुद्धका सचेतिकरण कार्यक्रम, रक्तदान, वृक्षारोपणलगायतका २० भन्दा बढी सामाजिक कार्यक्रम गरेको संस्थाका उपाध्यक्ष प्रेक्षा केसीले जानकारी दिनुभयो ।

फाउण्डेसनका अध्यक्ष अनुपमा चौधरीको अध्यक्षतामा भएको अक्षय कोष घोषणा समारोहमा समाजसेवी माधवराम वर्मा, गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अभय बस्नेतलगायतले अक्षय कोषको सदुपयोगमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *