बाँके, २९ जेठ-साहू समाज जिल्ला कार्य समिति बाँकेले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय ब्लड बैंकमा रगत अभावका कारण कोरोना संक्रमितलगायतका बिरामीको उपचारमा समस्या देखिएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गर्दै कोरोना भाइरसले ल्याएको यस विषम परिस्थितिमा रगत अभावले कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस् वा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्य साथ उक्त कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिए । साहु समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा कोरोनाले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै संयोजक शाहले यस मानवीय कार्यमा सहभागी भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे । कोरोना भाइरसले निम्त्याएको असहज परिस्थितिबाट पीडित नागरिकका लागि पनि साहू समाजले विभिन्न गतिविधि संचालन गर्दै आएको छ । समाजले गरिब, असहाय, पीडितलाई खाद्यान्न वितरण गर्नुका साथै सुरक्षाकर्मी र प्रहरी विटहरुमा समेत पानी, चाउचाउ, मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । महामारीको बेलामा हुनेले नहुनेलाई दिनुका साथै आफूबाट हुन सक्ने सहयोग निस्वार्थ रुपले गर्नु नै मानवीय सेवा हो,’ संयोजक शाहले भने । रक्त अभाव हुन नदिनका लागि आयोजना गरिकएको मानवीय कार्यमा सहभागी रक्तदातालाई खाना, फलफूल, ग्लोकोज, फ्रुटी, टिसर्ट र गम्छासहित सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका थिए ।


