नेपालगन्ज, २१ भदाै-पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले थारु संस्कृति झल्कने नाचको रौनक शुरु भएको छ । दशै अगावै थारु गाउँबस्तीमा नाचगान सुरु भएपछि रमझम सुरु भएको हो । पश्चिम नेपालको थारु समुदायमा थारु नाच सुरु भएपछि गाउँघरमा रमझम भएको स्थानिय थारु अगुवाहरु बताउँछन् । थारु बस्तीमा गुरिया पर्वदेखि नाचगान सुरु गरिने गरिन्छ । गुरिया पर्वदेखि सुरु गरिने नाचगान माघ महिनाको अन्तिमसम्म गरिने कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवाका बडघर बजारीलाल थारुले बताउनुहुन्छ । दशै आउन अझ केही महिना बाँकी हुँदा गाउँ बस्तीमा थारु नाचगान सुरु भएको उहाँले बताउनुहुन्छ । प्रायः हरेक थारु गाउँमा दशियामा हुरुदुङग्वा नाच, सखिया नाच, झुम्रा नाच, मघौटा नाच नाचिन्छ । हुरुदुङग्वा र सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको बडघर थारुको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुने गर्छ । ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले रातभरि हुरुदुङग्वा र सखिया नाच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा कायमै छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको दशैको महत्व झनै बेग्लै गर्ने गरेको उहाँले बताउनुहुन्छ ।
मादलको तालमा नाचिने नचनिया कम्मर मर्काईमर्काई नाच्ने गर्छन् । थारु समुदायको हुरदुग्वा र सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ अर्का समाजसेवी युवा नेता हेमेन्द्र चौधरीले बताउनुहुन्छ । थारु गाउँबस्तीमा हुरदुङग्वा र सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैँमा हुने गर्छ । प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा हुरुदग्वा र सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा नाच नाच्ने गर्छन् । पुराना पिढीले नयाँ पिढीलाई शिक्षा र सिप नसिकाउने हो भने थारुहरुको पहिचाननै हराएर जाने खतरा रहेको बुढापाखाहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसकारण आफनो रिती रिवाज, संस्कार र चाडपर्वलाई बचाई राख्न पुराना पिढीले ध्यान दिन जरुरी छ ।

